जेठ १९, काठमाडौं । राइड शेयरिङ खारेजीको माग गर्दै यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा व्यवसायीहरु गाडी ग्यारेजमा थन्काएर आन्दोलित बनेका हुन् ।
काठमाडौं उपत्यकासहित देशभर बन्दको प्रभाव परेको छ । कोटेश्वर–जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ । बिहानै ट्याक्सीले यात्रु बोकेको भन्दै यातायात व्यवसायीले यात्रु ओराल्न खोजेपछि प्रहरी र बन्द गर्दै हिँडेका व्यवसायीबीच धकेलाधकेल भएको थियो ।
बिहानै क्याम्पस पढ्न हिँडेका विद्यार्थी पनि अलपत्र परेका छन् । स्कूल बस र निजी सवारी साधन भने सञ्चालनमा छन् ।
गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेपछि खारेजीको माग गर्दै व्यवसायीले चरणबद्ध आन्दोलन सुरु गरेका थिए । संयुक्त विज्ञप्ति जारी गर्दै बिभिन्न सात यातायात व्यवसायी संगठनले सरकारको कदमले सार्वजनिक यातायात धराशायी बन्ने भएकाले जोगाइदिन अपिल गरेका छन् ।
यस्तै हिजो गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यातायात व्यवसायीहरुलाई छलफल गरी निकास निकाल्न वार्ताका लागि पुनः आह्वान गरेको थियो ।
राइड शेयरिङलाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीलाई प्रदेश सरकारले यसअघि बुधवार वार्तामा बोलाएकामा उनीहरू वार्तामा आएका थिएनन् ।
यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारले जारी गरेको कानूनबाट कुनै पनि पक्षलाई असर पर्न गएको अवस्थामा खुला छलफल गर्न सधैँ तयार रहेको प्रदेश सचिव एवम् वार्ता समितिका संयोजक इन्जिनियर कमलकुमार अधिकारीले बताए ।