फाल्गुण ३०, काठमाडौं । अझ बढी सवल, सक्षम, सुदृढ र स्वस्थ्य बैंक बनाउने उद्देश्यले उत्प्रेरित भएर प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक समाहित भएको छ । बिहीबारदेखि एकीकृत कारोबार शुभारम्भ गरेको बैंकको चुक्ता पुँजी अब १३ अर्ब ९७ करोड पुगेको छ । कैलाश समाहित हुनअघि प्राइम बैंकको चुक्ता पुँजी ११ अर्ब १७ करोड ७८ लाख थियो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि दवाव दिनुअघि नै २२ अर्ब पुँजी पुर्याउने लक्ष्यसहित अघि बढेको थियो । विकास बैंकहरुमध्ये अब्बल रुपमा रहेको कैलाशलाई प्राइममा समाहित गरेपछि बैंकको वित्तीय परिसूचक, शाखा सञ्जाल र अन्य संरचनागत सुधारकै लागि ठूलो सहयोग पुग्नेछ । अहिले कैलाश विकास बैंकसँग काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर ८७ ओटा सहित १०२ ओटा शाखा सञ्जाल छ । प्राइम र कैलाश मर्जरपछि देशभर २ सय शाखा पुग्छ भने काठमाडौं उपत्यकामात्रै ५० भन्दा बढी शाखा रहने छ ।
कैलाश पोखराबाट उदाएको बैंक भएका कारण गण्डकी प्रदेशमा उसको उपस्थिति राम्रो छ भने अरु प्रदेशहरुमा पनि सन्तुलित रुपमा शाखा विस्तार गरेको छ । नयाँ शाखा खोल्दा शाखा नाफामा जान ३ र ४ वर्षसम्म लाग्नसक्ने अहिलेको अवस्थामा कैलाशको शाखा सञ्जाल प्राइमको लागि ठूलो सम्पत्ति बनेको छ ।
त्यसो त कैलाश आफैंमा राम्रो कार्य सम्पादनसहित सञ्चालन भइरहेको बैंक पनि हो । ६ महिनामा मात्रै कैलाशले ३१ करोड रुपैंयाँ भन्दा माथि नाफा कमाएको छ भने प्राइम बैंकले यो अवधिमा एक अर्ब ३० करोड नाफा कमाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले बैंकको सम्पूर्ण वित्तीय सूचकहरू सुरक्षित राख्दै सवल र स्वस्थ बैंक बन्ने प्रतिवद्धता गरेको बताए ।