भाद्र १०,काठमाडौँ । बैङ्किङ क्षेत्रमा अधिक तरलता भएपछि बैङ्कको ब्याजदर सर्वाधिक सस्तो भएको छ । अहिले ब्याजदर विगत चार वर्ष यताकै सस्तो हो । निक्षेप तथा कर्जा दुवैको ब्याजदर घटेको छ । बैङ्कहरुको आधारदर नै अहिले चार वर्ष यताकै न्यून छ ।
२०७४ साल असार मसान्तसम्म ६.१५ प्रतिशत ब्याजदर निक्षेपकर्ताले पाउँथे । त्यसपछिको पछिल्ला २ वर्ष (२०७५ र ०७६) ब्याजदरमा केही बढोत्तरी भए पनि अहिले आएर घटेको छ । असार मसान्तसम्म ६.१ प्रतिशत ब्याजदर निक्षेपको छ ।
बैङ्कमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैङ्कहरुलाई आफूसँग भएको रकम कहाँ लगानी गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल नयाँ कर्जाको माग नै कम भएको र लगानीको माग आए आफूहरु लगानी विस्तार गर्न तयार भएको बताउँछन् । अहिले बैङ्कमा पैसा फालाफाल भएपछि ब्याजदर घटाउने प्रतिस्पर्धा छ । असार मसान्तसम्म बैङ्किङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता छ ।
यस्तै कर्जाको ब्याजदर पनि १०।११ प्रतिशत छ । यो असार मसान्तसम्मको अवस्था हो । तर कोरोनाका कारण भएको लकडाउनले ब्यापार व्यवसाय बन्द हुँदा ऋणको ब्याजदर सस्तो भए पनि ऋणको माग भने निकै न्यून रहेको बैङ्करहरुले भन्दै आएका छन् । २०७४ मा कर्जाको ब्याजदर ११.३३ प्रतिशत थियो । त्यसको एक वर्षपछि बढेर १२.४७ प्रतिशत भयो । तर फेरि केही घटेको कर्जाको ब्याजदर अहिले भने निकै घटेको छ ।
बैङ्कहरुको बेस रेट पनि चार वर्ष यताकै न्यून छ । बेस रेट कम हुनु भनेको ऋणीलाई कर्जाको ब्याज सस्तो पर्नु पनि हो । असार मसान्तसम्म बैङ्कहरुको आधारदर (बेस रेट) साढे ८ प्रतिशत छ । जबकि अघिल्लो वर्ष ९.५७ प्रतिशत थियो । २०७५ मा सबैभन्दा महँगो आधारदर थियो । त्यतिबेला बैङ्कहरुको आधारदर १०.४७ प्रतिशत रहेको थियो ।