भाद्र १०, काठमाडौँ । यतिबेला नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तीको चर्चा छ । भदौ २९ गते कार्यकाल सकिदैगर्दा कुलमान घिसिङको चर्चा अझ चुलिएको छ । मंगलबार मन्त्रीपरिषद्ले घिसिङलाई फेरी कार्यकारी निर्देशक नियुक्ती गर्यो भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइयो । कतिपयले यसलाई हावा भनेपनि आम नागरिकले फेरी कुलमान नै प्राधिकरणमा आउनपर्छ भन्दै दवाव स्वरुप त्यस्तो हल्ला चलाइएको दावी पनि गरेका छन् । तर रातारात कुलमान घिसिङ आएकै कारण नेपालमा लोडसेडिङ अन्त्य भएको हैन भन्ने तथ्य हामी सबैले बुझ्न जरुरी छ । हो, उनले आफ्नो खुवी देखाएकै हुन् । सफल नेतृत्व गरेकै हुन् । तर नेपालमा हालसम्म पनि आफै निर्भर हुने गरी बिजुली उत्पादन नभएको अवस्थामा उनले कसरी यसको सही व्यवस्थापन गरे त ?
आजभन्दा चार वर्षअघि नेपालमा दैनिक १८ घन्टा सम्म लोडसेडिङ हुन्थ्यो जनता अन्धकारमा थिए । घिसिङ प्राधिकरणमा नियुक्ती भएको सुरुवाती दिनमा नेपालले भारतसंग झण्डै ५ सय मेगावट बिजुली आयात गर्नपर्ने अवस्था थियो । उनले कार्यभार सम्हाल्ने बेला नेपालको बिजुली उत्पादन ९ सय ४० मेगावट थियो । हिँउदमा त्यसको आधा ४ सय ५० मेगावाट मात्रै उत्पादन थियो । त्यसबेला सो अभावलाई पुर्ती गर्न भारतसंग ४ सय मेगावाट भन्दा बढी बिजुली आयात गर्नुपर्ने अवस्था थियो ।
नागरिकले उज्यालोको कल्पना दिनमा मात्रै गर्न सक्थे तर आज समय फेरिएको छ । रातमा पनि सडक,रङ्गशाला, गल्ली उज्यालो हुन थालेका छन् । मुलुकमा लोडसेडिङ छैन् । सरकार नागरिकलाई कसरी बढी भन्दा बढी बिजुली प्रयोग गर्न लगाउने भन्ने रणनिती बनाउन थालेको छ ।
यद्यपी अहिलेपनि मुलुकमा प्रशस्त बिजुली उत्पादन छैन् । हिँउदमा भारतबाटै किनेर यहाँको माग धान्ने अवस्था रहेको छ । गतबर्षको अन्तिम महिनासम्म पनि दैनिक साढे ३ सय मेगावाट बिजुली भारतबाट आयात भइरहेको थियो ।
सुख्खायाममा नदी बहाव घट्ने तर, विद्युत् माग उच्च हुने कारण भारतबाट विद्युत् आयात गर्नुपरेको छ । गएको ‘चालू आवको ६ महिना झन्डै ६ अर्ब बिजुली आयात भएको छ । अहिले गतवर्षभन्दा विद्युत् आयातमा केही कटौती हुने देखिएको छ । हुन त सरकारले भारतलाई बिजुली नबेचेको हैन् । तरपनि नेपाल अझै बिजुलीमा आत्मनिर्भर भइसकेको अवस्था छैन् ।
उज्यालो अभियानमा भारतको साथ
यतिबेला सबैतिर कुलमान घिसिङको चर्चा भइरहेको छ । उज्यालो नेपालको सुत्राधार भनिदैछ । हुन पनि हो । हिजो तत्कालिन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्माले सही निर्णय गरेर सही व्यक्ती सही ठाँउमा पुगेकै हो । उनकै नेतृत्वमा प्राधिकरणले अवौँ नाफा पनि कमायो । तर नेपालसंग प्रशस्त बिजुली नहुँदा नहुँदै पनि नेपाल कसरी लोडसेडिङमुक्त भया त ? यसको एउटै कारण हो-‘भारतसंग नेपालले नियमित किन्ने गरेको बिजुली ।’ नेपालले प्रत्येक हिँउदमा भारतसंग बिजुली किनेर लोडसेडिङ हटाउने, बिजुलीको चुहावट नियन्त्रण गर्ने, प्रसारण लाइन निर्माण तथा व्यवस्थापन गर्ने जस्ता कार्यले नै नेपालको अध्यारो यात्रा हटेको हो । यसमा कुलमानसंगै प्राधिकरणका अन्य व्यक्तित्वको पनि उत्तिकै भुमिका रहेको छ ।
विशेषगरी उनलाई उज्यालो नेपाल बनाउन साथ दियो २०७५ माघ १० गते नेपाल र भारतका अधिकारीहरूको एउटा बैठकले । जहाँ ुइनर्जी ब्याङ्किङु भनिने नेपाल र भारतबीच बिजुली साटासाट गर्न मिल्ने एउटा सम्झौता भयो । जसले गर्दा नेपाललाई आवश्यक पर्दा भारतसंग बिजुली किनेर गर्जो टार्ने र नेपालसंग बिजुली बढी भएको बेला भारतलाई बिक्रि गर्ने । जसले गर्दा प्राधिकरणलाई बिजुलीको अभाव भएन र लोडसेडिङ अन्त्य भयो । त्यसबेला लोडसेडिङ अन्त्यको प्रमुख बुटी भारतीय बिजुली भयो। आजपनि नेपालले ठुला जलबिद्युत आयोजनाहरुको काम समयमा सकाउन सकेको छैन् । जसले गर्दा आगामी दिनमा समेत भारतसंग बिजुलीको परनिर्भरता रहन्छ नै । यद्यपी नेपालले यसबर्षको अन्तिमसम्ममा १२ महिना आफ्नो उत्पादनले बिजुली धान्ने र केही बढी भएको बिजुली भारतलाई बेच्ने बताएको छ ।
सरकारले यो वर्षदेखि विद्युत् निर्यात गर्ने योजना बनाएको थियो । तर, ४५६ मेगावाटको माथिल्लो तामाकोशीलगायतका जलविद्युत् आयोजना सम्पन्न नहुने भएपछि त्यो लक्ष्य तत्काल पुरा नहुने देखिएको छ ।
पछिल्लो पटक चीनको वुहानबाट फैलिएको नोबेल कोरोना (कोभीड–१९) कोरोना भाइरस असर निर्माणधीन जलविद्युत् आयोजना निर्माणमा पनि परेको छ । व्यवसायिक उत्पादन मिति घोषणा गरेका दुइ दर्जनभन्दा बढि नीजि क्षेत्रका जलविद्युत् आयोजना कोरोनाकै असरले थला परेका छन् । सरकारले गत आवमै १ हजार ४ मेगावाट विद्युत् ग्रीडमा थप्ने लक्ष्य लिएको थियो ।
तत्कालिन नेतृत्वले घिसिङलाई साथ दियो
तत्कालिन समयमा उर्जामन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पत्याए । उनका कुरा सुने । कुनै हस्तक्षेप गरेनन् र सरकारको तर्फबाट निति तथा योजना सहज बनाइदिए । कुलमानले आफ्ना योजना सुनाए । उनको योजनामा मुलुकमा प्रशस्त बिजुली उत्पादन नभइरहेको अवस्थामा पहिलो उपाय त बिजुली किन्नु नै थियो । जुन भारतसंग मात्र सहज थियो । अन्य मुलुकसंग प्रसारण लाइन जोडिएको थिएन् । आज पनि त्यो सम्भव छैन् ।
भलै सरकारले चीन, बंगलादेश लगायतसंग बिजुली आदानप्रदान गर्ने योजना बनाएको भने छ । जसले गर्दा सरकारले भारतसंग बिजुली किन्ने निर्णय गर्न सहजभयो । कुलमानले विस्तारै चुहावट नियन्त्रण गर्दै गए जसबेला बिजुली चोरी गर्नेलाई कडा कारवाही गर्न सरकारले निती नै बनाएको थियो । आजको उज्यालो नेपाल घिसिङको योजना, भारतको बिजुली सहकार्य , तत्कालिन सरकारको साथ र प्राधिकरणका सम्पुर्ण कर्मचारीको मेहनतले नै सम्भव भएको हो । यो तथ्य स्विकार्नु आजको आवश्यकता हो ।