जेठ २१, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताएका हुन् ।
उनले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले छुवाछूत तथा विभेदविरूद्ध लाग्न राष्ट्रपतिले सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनवटै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन आह्वान गरेका छन् ।
यस्तै यसै अवसरमा सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा सरोकारवाला पक्षहरू एक ढिक्का भई लाग्न अत्यावश्यक औँल्याए ।
उनले जातीय विभेद वा छुवाछूत कुनै वर्ग विशेषको मात्र समस्या नभई यो सम्पूर्ण समाज, राष्ट्र र मानव सभ्यताको नै साझा चुनौती भएको बताए । उनले सबैले आआफ्नो क्षेत्रबाट समानताको पक्षमा आवाज उठाउँदै समतामूलक समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउनु आजको आवश्यकता भएको उल्लेख गरे ।
यता जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने सङ्कल्प राखेको अध्यक्ष दाहालको भनाइ छ । उनले दिवससँगै सबैलाई जातको आधारमा हुने सबैखाले विभेद अन्त्य गर्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे ।