आश्विन २९,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार जाने क्रममा शीतल निवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी छिन । बुधबार बिहान उनी शीतल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी हुन । कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उनी हेलिकोप्टरमा चढेर विमानस्थल गएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल गएको यो पहिलोपटक हो । यसअघि राष्ट्रपतिको सवारीको बेला सडकमार्ग बन्द हुने गरेकोमा आलोचना हुँदै आएको थियो । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म्यानमार गएकी हुन । बुधबार म्यानमार पुगेपछि राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्ने तयारी छ । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ ।
उहाँले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ । उहाँले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ ।
राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ । म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।