कार्तिक १, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले षड्यन्त्रमूलक रुपमा कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिन थालेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि भक्तपुरको बोडेमा सुरु भएको दुईदिने प्रशिक्षणमा बोल्दै उनले सरकारले कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी षड्यन्त्र सुरु गरेको बताए ।
उनले भने, ‘१२ वर्षअघिको घटनालाई लिएर आलममाथि सरकारले अहिले झुटो मुद्दा लगाएर पक्राउ गर्यो, सरकारले १२ वर्षसम्म के हेर्यो, १२ वर्षसम्म केही नगर्ने अहिले आएर पक्राउ गर्ने रु यसबाट कुरा प्रष्ट हुन्छ कि सरकारको दुःख दिने नियत प्रष्ट छ’, उनले भने, ‘तर ढिलोचाँडो साथीहरुले न्याय पाउने छन् ।”
सभापति देउवाले दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गएको आरोप लगाउँदै देश र जनताको सेवामा लाग्नु पर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको कार्यकर्ता बनाएको आरोप लगाए । उनले जनताको करबाट तलब खाएर कुनै पार्टीको वकालत गर्न नहुने बताउँदै यदि गरे त्यस्ता कर्मचारीलाई एक एक गरेर हिसाब गर्ने बताए ।
‘नेकपाले निर्वाचनमा दुई तिहाई ल्याएर सरकार बनाएको हो, कम्युनिष्ट राज्य होइन । यदि सरकार थप निरंकुश बन्दै गए आन्दोलन गरेर लखेट्नुपर्छ’, उनले भने ।
सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने भनाइ राख्दै उनले कांग्रेसबाट विजयी जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी राम्रो काम गर्न निर्देशन दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे । पौडेलले कांंग्रेस विकल्पको रुपमा उदाउन नसके तानाशाहको हातमा देश पुग्ने बताए ।
कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले कांग्रेसले आसन्न उपभुनाव जसरी पनि जित्नुपर्ने बताउँदै पार्टी एक हुन जरुरी रहेको बताए ।
महामन्त्री डाक्टर शशांक कोइरालाले सरकार नागरिकका स्वतन्त्र संस्थाहरुको अधिकार खोस्ने पक्षमा देखिएको बताए । देशलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस दिनप्रतिदिन संकटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने भनाइ राखे ।
सञ्चार माध्यमले समेत षड्यन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको बताउँदै सिटौलाले भने, ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ग्राण्ड डिजाइन बनाएर कांग्रेसका विरुद्ध लागेका छन्, कांग्रेस सांसद मोहम्मद अफताब आलमविरुद्ध आएका समाचार यसको नमुना हो ।’
सिटौला तत्कालीन गृहमन्त्री रहेका बेला आलम उम्मेद्वार बनेको निर्वाचन क्षेत्रमा बम विस्फोट भएको थियो ।
आलमले नै केही व्यक्तिलाई प्रयोग गरी बम बनाउन लगाएको र त्यही क्रममा प्राविधिक गडबडीले बम विस्फोट भएको आरोप छ । बम बनाउने क्रममा सरुअठाका ओसी अख्तर, पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित आठ जना गम्भीर घाइते भएको र ती आठै जनालाई इँटाभट्टामा जलाएर हत्या गरेको गम्भीर आरोप आलममाथि लागेको छ । प्रहरीले आलमलाई पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।