कार्तिक ३, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्यादथपका लागि अदालत लगिएको छ।
अदालतले दिएको म्याद सकिएसँगै सरकारी वकिलको कार्यलयमा भएको बयानपछि आइतबार पुनः म्याद थपका लागि महरालाई अदालत लगिएको हो।
यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो।
बलात्कारको आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो। प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि केही दिनदेखि नर्भिक अस्पतालमा छन्।
उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन्। महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन्।
त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो। महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो। आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए।