माघ २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मंगलबार बिहान १० बजेबाट प्रधानमन्त्री निवास बलुवाटारमा ओली प्रचण्डबीच सुरु भएको छलफलमा पार्टी एकता टुङ्ग्याउने, जनयुद्ध तथा जनआन्दोलनका शहीदरुको स्मृति दिवस लगायतका विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बोलाइएको सचिवालय बैठक स्थगित गरिएको थियो । १५–१९ माघमा भएको नेकपा केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी एकता टुङ्ग्याउने निर्णय गरेको थियो ।
यसैगरी माओवादी जनयुद्ध सुरु भएको दिन १ फागुनको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा जनयुद्ध तथा जनआन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रममा अध्यक्षद्वय ओली र प्रचण्ड दुबैजना सहभागी हुने योजनामा छन् । यस विषयमा अध्यक्षद्वयबीच आजको भेटमा छलफल हुने बताइएको छ । यसैगरी केन्द्रीय कमिटी बैठकले निर्माण गरेको झलनाथ खनाल नेतृत्वको एमसीसी कार्यदलका बारेमा पनि नेकपा अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।