फाल्गुण १, काठमाण्डौ । खानेपानी मन्त्री बिना मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थप मेहनत गर्नुपर्ने बताएकी छन् । लिमिटेडको बाह्रौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले काठमाडौं उपत्यकाबासीले वर्षौंदेखि झेलिरहेका समस्याको हल हुने दिन नजिकिंदै गईरहेको बताउँदै त्यसका लागि केयुकेएल सक्षम बन्नुपर्ने बताइन् ।
मन्त्री मगरले मेलम्ची जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले केयुकेएलले चुस्त व्यवस्थापकीय ढंगबाट काम गर्नुपर्ने बताइन् । हिजोका कठिनाई, समस्या र अप्ठ्यारो भोगाइबाट पाठ सिक्दै अब परिश्रमका साथ काम गर्नुपर्ने समय आएको उनले बताइन् । ‘मेलम्चीको पानी आउन अब धेरै समय छैन । पानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ’, उनले भनिन्, ‘केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।’