जेठ २१, काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले नाएको छ ।
राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।