माघ २९,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा स्थिर सरकार निर्माण भएसँगै मुलुकले काँचुली फेर्न थालेको उल्लेख गर्दै आगामी दिनमा विकास र समृद्धिको झिल्को नभई ज्वाला हुने बताएका छन ।
अष्ट्रेलियामा आज गैरआवसीय नेपाली संघ अष्ट्रेलियाको आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद बस्नेतले नेपालको आशा र सम्भावनाहरुको दियो बल्दै गएको बताए । उनिसहितको टोली अष्ट्रेलियामा विकास भएको आधुनिक कृषि प्रणालीको वारेमा अध्ययन तथा अनुसन्धान गर्न अष्ट्रेलिया पुगेको थियो ।
आगामी वर्ष अविकसित मुलुकबाट अल्पविकसित मुलुकको रुपमा नेपाललाई घोषणा गर्ने सरकारको तयारी गरिरहेको जानकारी गराउँदै उनले आगामी दिनमा रोजगारीको लागि विदेशमा गएर भन्दा नेपालमा नै बढी आम्दानी गर्ने वातावरण बनाउने योजनाहरु समेत सरकारले व्यवस्थित रुपमा अघि बढाईरहेकोले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपालीहरुलाई नेपालमा आधुनीक कृषी तथा उद्योगमा लगानी गर्न आग्रह गरे ।
विकसित मुलुकमा रहेको सूचना, प्रविधि र ज्ञानलाई नेपालमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले समानता र अधिकारको बहानामा हुने आन्दोलन समाप्त भएको अबको यात्रा समृद्ध नेपाल –सुखी नेपाली निर्माण गर्नु रहेको उल्लेख गरे ।
प्रथम र द्वितीय पक्ष बाहेक तेस्रो पक्षलाई सवै नराम्रो देख्ने प्रवृक्तिलाई हटाउनु अहिलेको अपरिहार्यता रहेको औंल्याउँदै उहाँले युवाहरुको प्रगतिशिल सोधकै कारण कतिपय अवस्थामा आक्रामक रुपमा प्रस्तुत हुने समेत उल्लेख गरे । उनले भने, ‘तँ र म राम्रो अरु सवै नराम्रो भन्ने चिया गफ हुने गरेको कतिपय अवस्थामा पाइन्छ । अब त्यसलाई अन्तय गर्न कृषिमा आधारित अर्थतन्त्रलाई उद्योगमा आधारित अर्थतन्त्रमा परिणत गर्नु आवश्यक छ । अब त्यसलाई उद्योग तथा उत्पादको रुपमा विकास गर्दै मुलुकमा रोजगार तथा आर्थिक वृद्धिदरको बाटोमा अघि बढ्नुपर्छ ।’
स्वदेशी तथा विदेशी कम्पनीहरुले दर्ता गरेर खोला तथा खानी जति झोलामा पुर्याइसकेको बताउँदै उनले अब कुनै पनि झोलामा रहेको खोला तथा खानीलाई लगानी मैत्री उद्योग, कलकारखाना तथा आर्थिक वृद्धि उच्च बनाउने आधारको रुपमा स्थापीत गर्नुपर्नेमा जोड दिए । नेपालमा लगानीमैत्री तथा उद्योग कलकारखाना डुब्न दिँदैनौं भन्ने सरकारले ग्यारेन्टी लिनुपर्नेमा समेत उनको जोड रहेको थियो ।
नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामा बंगलादेश पछिको दोस्रो रहेको उल्लेख गर्दै उनले नेपालमा आयात घटेको साथै निर्यात बढेको जानकारी गराउँदै दक्ष युवा क्रम बढेसँगै विदेश जानको संख्या घटेको रेमिट्यान्स भने बढेको जानकारी गराए ।
कार्यक्रममा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले नेपालीहरुले आफ्नै देशमा पसिना बगाएर भविष्य निर्धारण गर्ने वातावरण सिर्जना हुँदै गएकाले विदेशमा सिकेको सीप नेपालमा लगानी गर्नुपर्नेमा जोड दिए । समाज रुपान्तरण गर्न कुनै पनि काम सानो वा ठूलो नहुने बताउँदै उनले लगानी गर्नेको सवैलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
उद्योग तथा कलाकारखाना सञ्चालनका क्रममा सरकारी प्रकृयामा एउटै काममा दश तिर कुदाउने कार्यको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले गैरआवासीय नेपालीहरुको नागरिकहरुको नागरिकताको विषयमा ऐन तयार भइसकेको र तत्काल माग सम्बोधन हुने समेत जानकारी गराए ।